मन्त्री बन्ने हतार नगर्न रास्वपा सांसदलाई लामिछानेको निर्देशन,

मन्त्री बन्ने हतार नगर्न रास्वपा सांसदलाई लामिछानेको निर्देशन,

लोक आवाज ,

काठमाडौँ , ०४ चैत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति ले मन्त्री बन्ने विषयमा भइरहेको चर्चा र तथाकथित “मिडिया ट्रायल” प्रति असन्तुष्टि जनाउँदै सांसदहरूलाई संयमित हुन आग्रह गरेका छन्।

बुधबार आयोजित सांसदहरूको अभिमुखीकरण कार्यक्रमको समापन सम्बोधन गर्दै उनले मन्त्री बन्ने आकांक्षा स्वाभाविक भए पनि त्यसका लागि सार्वजनिक रूपमा दबाब सिर्जना गर्ने वा प्रचार गर्ने कार्य अनुचित भएको स्पष्ट पारे। “तपाईंहरूमध्ये कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ,” उनले भने, “तर कृपया ‘मन्त्री बनाइदिनुस्’ भनेर वा मिडियामा आफूलाई फलानो मन्त्रीका रूपमा प्रचार गर्ने काम नगर्नुहोस्।”

लामिछानेले पार्टीले अझैसम्म सरकारमा कसलाई पठाउने भन्ने विषयमा कुनै अन्तिम निर्णय नगरेको जानकारी दिए। उनका अनुसार मन्त्री छनोट गर्दा व्यक्तिको क्षमता, दक्षता र जिम्मेवारी सम्हाल्ने योग्यतालाई मुख्य आधार बनाइनेछ।

उनले कसैले पनि व्यक्तिगत रूपमा भनसुन वा दबाब सिर्जना गर्न आवश्यक नरहेको उल्लेख गर्दै सबै सांसदहरूको निष्पक्ष मूल्यांकन भइरहेको बताए। “मिडियामा धेरै देखिने वा कम देखिने दुवैथरी सांसदहरूको कामको आधारमा मूल्यांकन भइरहेको छ,” उनले थपे।

सभापति लामिछानेले पार्टीभित्र अनुशासन र पारदर्शितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै सांसदहरूलाई जनताको विश्वास कायम राख्ने गरी काम गर्न निर्देशन दिए।

रास्वपाले हालैको निर्वाचनपछि राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति बनाएको छ। यस्तो अवस्थामा मन्त्री छनोट प्रक्रियालाई पारदर्शी र योग्यतामुखी बनाउने पार्टीको संकेतलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार