सुनिल साह ,
जनकपुरधाम , २६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह मंगलबार सिराहा आउने कार्यक्रम तय भएको छ। मधेश केन्द्रित राजनीतिक भेटघाट तथा जनसम्पर्क अभियानअन्तर्गत शाह सिराहा र सप्तरीका विभिन्न स्थानमा पुग्ने छन्।
प्राप्त कार्यक्रमअनुसार बालेन शाह मंगलबार बिहान १० बजेर १५ मिनेटमा सप्तरीको जनही चोकमा पुग्नेछन्। त्यसपछि बिहान १० बजेर ३० मिनेटमा कोसाचोक, १० बजेर ४० मिनेटमा लहान हस्पिटल चोकमा जनसम्पर्क तथा संक्षिप्त भेटघाट गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी बिहान ११ बजे भगवानपुर चोक हुँदै बाला सुन्दरी मन्दिरमा दर्शन गर्ने कार्यक्रम तय गरिएको छ। मन्दिर दर्शनपछि ११ बजेर २० मिनेटमा पुनः भगवानपुर चोकमा उपस्थित भई ११ बजेर २५ मिनेटमा नवराज चोकमा पुग्ने कार्यतालिका रहेको पार्टी स्रोतले जनाएको छ।
शाहको सिराहा भ्रमणका क्रममा सिराहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बब्लु गुप्तासहित रास्वपाका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहने बताइएको छ। कार्यक्रममा स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद, राजनीतिक सन्देश प्रवाह तथा आगामी निर्वाचन र समसामयिक राजनीतिक विषयमा विचार आदान–प्रदान हुने अपेक्षा गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले मधेशका विभिन्न जिल्लामा संगठन विस्तार र जनसमर्थन सुदृढ गर्ने उद्देश्यसहित शीर्ष नेतृत्वको सक्रिय उपस्थिति बढाउँदै आएको छ। बालेन शाहको सिरहा भ्रमणलाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ।




प्रतिक्रिया !