सुनिल साह ,
जनकपुरधाम, २६ माघ । धनुषाको हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार यादवको ब्रेन ह्याम्रेजका कारण निधन भएको छ।
गत शुक्रबार राति करिब ११ बजे आफ्नै निवासमा रहँदा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल उपचारका लागि जनकपुरस्थित न्युरो अस्पताल लगिएको थियो। न्युरो अस्पतालमा उपचार सम्भव नभएपछि शनिबार बिहान करिब ३ बजे हेलिकोप्टरमार्फत काठमाडौँको नर्भिक अस्पताल पुर्याइएको थियो। तर चिकित्सकहरूको अथक प्रयासका बाबजुद उनको ज्यान बचाउन सकिएन।
नगरप्रमुख यादवको निधनसँगै हंसपुर नगरपालिका शोकमा डुबेको छ। स्थानीयवासी, विभिन्न राजनीतिक दल तथा संघ–संस्थाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
स्वर्गीय यादव सरल, जनमुखी तथा विकासप्रेमी नेताका रूपमा परिचित थिए। उनको निधनले हंसपुर नगरपालिका मात्र नभई समग्र धनुषा जिल्लालाई अपूरणीय क्षति पुगेको छ।




प्रतिक्रिया !