भदौ २३–२४ का घटनाले लगानीकर्ताको आत्मविश्वासमा गहिरो चोट पुगेको मन्त्री सिन्हाको भनाइ

भदौ २३–२४ का घटनाले लगानीकर्ताको आत्मविश्वासमा गहिरो चोट पुगेको मन्त्री सिन्हाको भनाइ

लोक आवाज ,

काठमाडौँ, २६ माघ । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले भदौ २३ र २४ मा भएका घटनाबाट भएको ३४ अर्ब रुपैयाँ बराबरको भौतिक क्षतिभन्दा लगानीकर्ताको खस्किएको आत्मविश्वास अझै डरलाग्दो विषय भएको बताएका छन्।

क्लिकमाण्डुद्वारा आयोजित सिम्पोजियममा बोल्दै मन्त्री सिन्हाले निजी क्षेत्र नै मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गरे। उनले निजी क्षेत्रले नेपालको कुल गार्हस्थ उत्पादनमा ८१ प्रतिशत योगदान दिएको र ८५ प्रतिशतभन्दा बढी रोजगारी यही क्षेत्रले सिर्जना गरेको जानकारी गराए।

उनका अनुसार भदौ २३ र २४ का घटनापछि निजी क्षेत्रले करिब ३४ अर्ब रुपैयाँको प्रत्यक्ष तथा झण्डै ८१ अर्ब रुपैयाँको अप्रत्यक्ष आर्थिक क्षति व्यहोरेको छ। निजी क्षेत्र असुरक्षित महसुस गरेसम्म मुलुक समृद्धिको दिशामा अघि बढ्न नसक्ने उनले चेतावनी दिए।

मन्त्री सिन्हाले ती घटनापछि केही दिन मुलुक सरकारविहीन जस्तो अवस्थामा पुगेको उल्लेख गर्दै हाल शान्ति सुरक्षा अवस्था क्रमशः सुधार हुँदै गएको बताए। लगानीकर्ताको मनोबल उच्च बनाउन सरकारले नीतिगत सुधारका प्रयास गरिरहेको उनको भनाइ थियो।

कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने भन्सार महसुलमा रहेको विसङ्गतिमा स्वार्थ समूहको चलखेल हुन सक्ने संकेत गर्दै उनले त्यसतर्फ सरकार सचेत रहेको बताए।

साथै, न्यायालय तथा विवाद समाधान संयन्त्र कमजोर रहेको उल्लेख गर्दै व्यवसायिक विवाद छिटो टुंगो लाग्ने वातावरण नबनेसम्म लगानीमैत्री वातावरण निर्माण हुन नसक्ने मन्त्री सिन्हाको धारणा थियो।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार