धनुषा–२ मा एमाले उम्मेदवार अरगरियाको घरदैलो अभियान तीव्र

धनुषा–२ मा एमाले उम्मेदवार अरगरियाको घरदैलो अभियान तीव्र

सुनिल साह,

जनकपुरधाम, २६  माघ । नेकपा (एमाले) धनुषा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उमाशंकर अरगरियाले घरदैलो तथा भेटघाट अभियानलाई तीव्र बनाएका छन्।

अभियानअन्तर्गत अरगरियाले हंसपुर नगरपालिका वडा नं. १ का भगवानपट्टि र ननुपट्टि गाउँ तथा वडा नं. ४ स्थित सुगा मधुकरहीमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका हुन्।

सुगा मधुकरहीमा आयोजित भेटघाट कार्यक्रममा उम्मेदवार अरगरियाले स्थानीयवासीसँग भलाकुसारी गर्दै जनताको साथ, सहयोग र विश्वास नै आफ्नो प्रमुख शक्ति भएको बताए। उनले स्थानीय समस्याबारे प्रत्यक्ष जानकारी लिँदै विकासका आवश्यकता र जनचासोका विषयमा सुझाव संकलन गरेका थिए।

कार्यक्रममा उनले स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। यी क्षेत्रलाई आफ्ना चुनावी प्रतिबद्धतामा समेटिएको उल्लेख गर्दै निर्वाचित भएपश्चात कार्यान्वयनमा विशेष जोड दिने बताए।

भेटघाटका क्रममा स्थानीयवासीहरूले सडकको दयनीय अवस्था, सिँचाइ सुविधाको अभाव तथा कृषि विकासका विषयमा ध्यानाकर्षण गराउँदै दीर्घकालीन विकास योजनाको आवश्यकता औंल्याएका थिए।

घरदैलो तथा भेटघाट अभियानलाई निरन्तरता दिँदै उम्मेदवार अरगरियाले जनतासँग प्रत्यक्ष संवादमार्फत चुनावी अभियानलाई प्रभावकारी बनाइरहेको नेकपा (एमाले) धनुषाले जनाएको छ।

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार