ओडिसा, भारत ०६ फाल्गुन । ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेको घटनापछि संस्थाले दुई सुरक्षागार्डलाई बर्खास्त गरेको छ भने तीन कर्मचारीलाई निलम्बन गरेको छ।
मंगलबार केआईआईटीले विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धानका क्रममा दुई सुरक्षाकर्मीलाई तत्काल बर्खास्त गरिएको जानकारी दिएको हो। साथै, दुई वरिष्ठ छात्रावास अधिकारी र एकजना अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ)का वरिष्ठ प्रशासनिक अधिकारीलाई पनि अनुसन्धान नसकुन्जेल निलम्बन गरिएको उल्लेख छ।
प्रकृति लम्साल, जो बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन्, आइतबार साँझ छात्रावासको कोठामा शंकास्पद अवस्थामा मृत भेटिएकी थिइन्। उनको मृत्युले नेपाली विद्यार्थी र संस्थामा अन्य विद्यार्थीहरूबीच ठूलो आक्रोश फैलिएको छ। त्यहाँ रहेका नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् र लम्सालको मृत्युमा संलग्न दोषीलाई कारबाही गर्न आग्रह गरेका छन्।
केआईआईटी प्रशासनले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन जारी रहेको बताएको छ। संस्थाले मृतकका परिवारसँग सहानुभूति प्रकट गर्दै दोषी ठहरिएमा कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यसैबीच, भारतीय प्रहरीले पनि घटनाको अनुसन्धान थालेको छ र पोस्टमार्टम रिपोर्टका आधारमा थप कारबाही गर्ने बताएको छ।
प्रकृतिको शंकास्पद मृत्युले नेपाली समुदायमा पनि ठूलो असर परेको छ। भारतमा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षाका सम्बन्धमा प्रश्न उठ्दै गर्दा सामाजिक सञ्जालमा व्यापक समर्थन र न्यायको माग गरिएका छन्। मृतकका परिवारले छोरीको मृत्युपछि छानबिन र सत्यतथ्य सार्वजनिक गर्न दवाब दिएका छन्।
यस घटनाले विद्यार्थी सुरक्षाका मापदण्डहरूको पुनरवलोकन गर्न दबाब दिएको छ, विशेष गरी अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि।




प्रतिक्रिया !