लिम्बुवान स्वायत्तता र सांस्कृतिक संरक्षणको लागि संघर्ष जारी “राजेन्द्र महतोको सम्बोधन “

लिम्बुवान स्वायत्तता र सांस्कृतिक संरक्षणको लागि संघर्ष जारी “राजेन्द्र महतोको सम्बोधन “

काठमाडौँ, २२ माघ मुकुमलुङ संरक्षण संघर्ष समितिद्वारा आयोजित विरोध प्रदर्शनमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले लिम्बुवान राज्यको अधिकारको मुद्दालाई जोड दिँदै सरकारको नीतिको विरोध गरेका छन्। माइतीघर मण्डलामा भएको प्रदर्शनमा महतोले लिम्बुहरूको अधिकार र स्वायत्तताको आवश्यकता औँल्याउँदै भने, “लिम्बुवान राज्य नबनेसम्म लोकतन्त्र र मानव अधिकार सम्भव छैन।”

 

महतोले सरकारको केवलकार निर्माणलाई लिम्बुवानको सांस्कृतिक सम्पदा र अधिकारमाथि प्रहारको रूपमा लिएको बताउँदै भने, “यदि लिम्बुवान राज्य भएको भए, केवलकारको निर्णय नै हुँदैनथ्यो।” उनले राज्यले वार्ताको बहाना गर्दै आन्दोलनकारीलाई दमन गर्ने पुरानो नीतिलाई कटाक्ष गर्दै भने, “यो नाटकले समस्या समाधान हुन सक्दैन।”

 

संबोधनको क्रममा महतोले सम्पूर्ण उत्पीडित समुदायको एकतामा जोड दिदै भने, “सिर्फ लिम्बु समुदायको सहभागिताले मात्र समस्या समाधान हुन सक्दैन। सबै उत्पीडितहरूको एकता आवश्यक छ। यो केवल केवलकारको मुद्दा मात्र होइन, वैचारिक र सांस्कृतिक संघर्ष हो।”

 

महतोले मधेस र आदिवासीहरूको अधिकारको संरक्षणका लागि राष्ट्रिय मुक्ति क्रान्तिको औचित्य पुष्टि गर्दै, मुकुमलुङको संघर्षले बहुलराष्ट्रिय राज्य स्थापनाको आवश्यकता झनै बलियो बनाएको बताए। सांस्कृतिक सम्पदाको संरक्षणमा सबै समुदायको एकता अपरिहार्य रहेको र मधेस पनि लिम्बुहरूको पक्षमा रहेको उनले बताए।

 

सम्बोधनको अन्त्यमा महतोले राज्यद्वारा हुने दमनको कठोर प्रतिवाद गर्ने चेतावनी दिए। “अब इटको जवाफ पत्थरले दिइनेछ,” उनले भने, “एक्लो संघर्षले मात्र दमन सम्भव छैन।”

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार