लोक आवाज ,
जनकपुरधाम , २६ चैत । एसईई परीक्षा दिएर घर फर्किने क्रममा महोत्तरीको एकडारा गाउँपालिका–५ गेना बथनाहामा भएको मोटरसाइकल दुर्घटनामा आगलागी हुँदा तीन जनाको जलेर मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
घाइतेमध्ये अजय कापरको अवस्था अत्यन्त गम्भीर रहेको छ। दुर्घटनालगत्तै उनलाई प्रादेशिक अस्पताल जनकपुरधाम मा भर्ना गरिएको थियो। तर चिकित्सकले त्यहाँ उपचार सम्भव नभएको भन्दै अर्को दिन नै अन्य सुविधा सम्पन्न अस्पतालमा रिफर गर्न सिफारिस गरेका थिए।
तर आर्थिक अभावका कारण अजयलाई अन्यत्र लैजान सकिएको छैन। तीन दिनदेखि अस्पतालमै अचेत अवस्थामा रहेका अजयका ६८ वर्षीय बुबा रामवरण यादवले उपचार खर्च जुटाउन नसक्दा छोराको ज्यान जोखिममा परेको पीडा व्यक्त गरेका छन्।
दुर्घटनामा घाइते भएका अन्य दुई जनाको भने रामजानकी अस्पताल मा उपचार भइरहेको छ।
दुर्घटनापछि मधेस प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पीडितलाई भेट्दै उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने आश्वासन दिएकी थिइन्। तर व्यवहारमा भने सहयोग नपुग्दा अजय अझै समयमै रिफर हुन सकेका छैनन्।
दैनिक ज्यालादारी गरेर परिवार चलाउँदै आएका अजयका बुबा अहिले आर्थिक संकटका कारण उपचार गराउन असमर्थ छन्। परिवारका अनुसार अजय पढाइसँगै मजदुरी गरेर घरको आर्थिक भार पनि बोक्दै आएका थिए।
गत मंगलबार जलेश्वर–सम्सी हुलाकी सडक खण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी भएको थियो। घटनास्थलमै तीन जनाको जलेर मृत्यु भएको थियो।
दुर्घटनामा जलेश्वर नगरपालिका–६ का २० वर्षीय रबि दास, २० वर्षीय सुभाष दास र एकडारा–३ का अभिषेक मण्डलको मृत्यु भएको हो। अजयसहित रोहित दास र अभय कापर गम्भीर घाइते भएका छन्।
अस्पतालका निर्देशक डा. जामुन प्रसाद सिंहका अनुसार अजयको अवस्था गम्भीर भए पनि प्रारम्भिक उपचारपछि केही सुधार देखिएको छ। तर न्युरो सर्जनको टोली आवश्यक पर्ने भएकाले थप उपचारका लागि अन्य अस्पतालमा लैजान सल्लाह दिइएको छ।
उपचारमा संलग्न डा. प्रधुमन कुमार यादवका अनुसार अजयलाई गम्भीर चोट लागेको छ र हाल उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। रगत जमेको अवस्था देखिएकाले अवस्था जटिल रहेको चिकित्सकहरूले बताएका छन्।




प्रतिक्रिया !