लोक आवाज ,
काठमाडौं , २६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले मुद्दा चलाउने आधार र प्रमाण सरकारले पुर्याउन नसकेपछि आफू रिहा भएको बताएका छन्।
हाजिरी जमानिमा रिहा भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ओलीले आफूलाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गरेका छन्।
उनले लेखेका छन्, ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राख्यो, तर अन्ततः मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि म रिहा भएको छु।’
ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले कानुनी लडाइँमा साथ दिने कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालत प्रति सम्मान प्रकट गरेका छन्।
प्रहरी नियन्त्रणमा रहँदा आफूलाई मानवीय व्यवहार गरेको भन्दै प्रहरी प्रशासनलाई पनि उनले धन्यवाद दिएका छन्। त्यस्तै, उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल प्रति कृतज्ञता व्यक्त गरेका छन्।
ओलीले पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारले बेहोर्नुपर्ने बताएका छन्। यदि सरकारले बेवास्ता गरे पार्टीले खर्च व्यहोर्ने पनि उनले उल्लेख गरेका छन्।
जेनजी आन्दोलन दमन गरेको तथा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको आरोपमा चैत १४ गते पक्राउ परेका ओली १३ दिनपछि आज रिहा भएका हुन्।




प्रतिक्रिया !