लोक आवाज ,
जनकपुरधाम, २४ चैत – मैथिली सांस्कृतिक क्षेत्रका वरिष्ठ गीतकार अशोक दत्त लामो समयदेखि मुखको क्यान्सरबाट पीडित रहेका छन्। उनको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले स्थानीय संघसंस्था र कलाकारहरूको पहलमा जनकपुरधाममा भव्य च्यारिटी सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा मैथिलीका करिब ८०–९० जना कलाकारहरूले कुनै पारिश्रमिक नलिई आफ्नो प्रस्तुति दिएका थिए। दर्शकहरूले टिकट खरिद गरेर कार्यक्रम अवलोकन गर्दै सहयोग जुटाएका थिए।
कार्यक्रम व्यवस्थापनमा ‘मैथिली विकास कोष’ले सभाकक्ष तथा ‘शिवालय साउण्ड’ले साउन्ड र लाइट नि:शुल्क उपलब्ध गराएका थिए।
उक्त कार्यक्रमबाट जम्मा ५ लाख ४७ हजार १०० रुपैयाँ संकलन भएको छ। उक्त रकम जीवनाथ चौधरी, सुनील मल्लिक, नवीन मिश्र, रितेश पाटली र राशेन मिश्रले दत्तको घरमै पुगेर हस्तान्तरण गरेका छन्।
आयोजकहरूले अशोक दत्तजस्ता प्रतिभाशाली कलाकारलाई उपचारमा आर्थिक अभावले असर नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका छन्। कार्यक्रममा सहभागी कलाकार र सहयोगीहरूको योगदान अतुलनीय रहेको उनीहरूको भनाइ छ।
संकलित रकम दत्तको उपचार खर्चमा उपयोग गरिनेछ। दत्तका आफन्त तथा शुभेच्छुकहरूले आयोजक र सहभागी सबैप्रति आभार व्यक्त गरेका छन्।




प्रतिक्रिया !