लोक आवाज ,
काठमाडौं, २५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गर्दै प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। यससँगै रास्वपा संसद्मा स्पष्ट बहुमत हासिल गर्ने पार्टी बनेको छ।
प्रत्यक्षतर्फका १६५ सिटमध्ये रास्वपाले करिब ७५ प्रतिशतभन्दा बढी सिटमा विजय हात पारेको हो। निर्वाचन परिणामअनुसार नेपाली कांग्रेस दोस्रो दल बनेको छ भने कांग्रेसले १८ सिटमा जीत हासिल गरेको छ। नेकपा एमाले तेस्रो स्थानमा सीमित भएको छ।
विभिन्न वामपन्थी दलहरूको गठबन्धन नेपाली कम्युनिष्ट पार्टी ले ७ सिटमा मात्रै विजय हासिल गरेको छ। जेनजी आन्दोलनपछि स्थापना भएको नयाँ दल श्रम संस्कृति पार्टी ले ३ सिट जित्दै छोटो समयमै संसदीय राजनीतिमा प्रवेश गरेको छ।
यसैगरी राजतन्त्र समर्थक दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट मात्र जितेको छ भने देशभर स्वतन्त्र रूपमा उम्मेदवारी दिएका एक जना उम्मेदवार पनि निर्वाचित भएका छन्।
क्षेत्रगत नतिजाअनुसार गोरखा २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी २६ हजार ६६० मतसहित विजयी भए। उनले कांग्रेसका प्रकाशचन्द्र दवाडी लाई करिब १४ हजार ९६० मतको फरकले पराजित गरे।
त्यस्तै नुवाकोट १ मा रास्वपाका विक्रम तिमिल्सिना ले ४ हजार १२ मत अन्तरले कांग्रेसका प्रकाशशरण महत लाई पराजित गरे।
सुनसरी ४ मा रास्वपाका दीपककुमार साह ४२ हजार ७७१ मतसहित विजयी भए। उनले कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की लाई २६ हजार १८४ मत अन्तरले हराए।
त्यस्तै अछाम २ मा भने एमालेका यज्ञबहादुर बोगटी विजयी भए। उनले कांग्रेसका पुष्प शाह लाई ४७२ मत अन्तरले पराजित गरे।
यस नतिजासँगै रास्वपाले राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति स्थापित गर्दै प्रतिनिधिसभामा बहुमतको स्थिति प्राप्त गरेको छ।




प्रतिक्रिया !