लोक आवाज ,
सर्लाही, २३ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीका दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले भारी मतान्तरसहित विजय हासिल गरेका छन् भने जिल्लाका अन्य निर्वाचन क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन्।
सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा नेतृ नीतिमा भण्डारी कार्की भारी मतान्तरसहित निर्वाचित भएकी छन्। उनले नेपाली कांग्रेस का उम्मेदवार शम्भुलाल श्रेष्ठलाई झण्डै ३६ हजार मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेकी हुन्।
अन्तिम मतपरिणाम अनुसार भण्डारीले ४४ हजार १८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ७ हजार ८७१ मत पाएका छन्। निर्वाचन आयोग का अनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार मनोज कुमार देवकोटाले ६ हजार १०१ मत प्राप्त गरेका छन्।
त्यस्तै, चौथो स्थानमा रहेका नेपाल कम्युनिस्ट पार्टी का उम्मेदवार प्रमोद साहले ५ हजार ४९४ मत पाएका छन्। अघिल्लो प्रतिनिधि सभा निर्वाचन २०७९ मा सर्लाही–१ बाट लोकतान्त्रिक समाजवादी पार्टी का रामप्रकाश चौधरी २४ हजार ८३८ मतसहित विजयी भएका थिए। तर यसपटक पुनः उम्मेदवार बनेका चौधरी ३ हजार ९९१ मतमै सीमित भएका छन्।
यसैगरी, सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाका उम्मेदवार रबिन महतो विजयी भएका छन्। उनले घण्टी चुनाव चिन्हबाट ४२ हजार ५१२ मत प्राप्त गर्दै अन्य प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेका हुन्।
महतोका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी का उम्मेदवार महिन्द्र राय यादवले ८ हजार ५२३ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय मुक्ति पार्टी का उम्मेदवार राजेन्द्र महतोले ५ हजार ९९२ मत ल्याएका छन् भने नेपाली कांग्रेस का उम्मेदवार डा. सरोज कुमारले ७ हजार ३९ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार नागेश्वर साहले १ हजार ४६३ मत पाएका छन्।
अन्तिम मतपरिणाम अनुसार सर्लाही–२ बाट रास्वपाका रबिन महतोले ठूलो मतान्तरसहित विजय हासिल गरेका छन्। यसैबीच, जिल्लाका अन्य निर्वाचन क्षेत्रहरूमा जारी मतगणनामा पनि रास्वपाका उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन्।




प्रतिक्रिया !