लोक आवाज ,
काठमाडौं, २२ फागुन । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन देशभर शान्तिपूर्ण र हिंसारहित रूपमा सम्पन्न भएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालले सन्तोष व्यक्त गरेका छन्।
उनले निर्वाचन हुन नसकेको भए देश, संविधान र मानवतामाथि नै जोखिम आउन सक्ने अवस्था सिर्जना हुन सक्ने बताए। सरकारको लक्ष्य निष्पक्ष, सुदृढ र विश्वसनीय चुनाव गराउनु रहेको उल्लेख गर्दै यसपटकको निर्वाचन अघिल्ला निर्वाचनभन्दा गुणस्तरीय भएको दाबी गरे।
गृहमन्त्री अर्यालले भने, “यो चुनावले मानवता, मुलुक र संविधान जोगाउने प्रत्याभूति दिएको छ। यदि निर्वाचन हुन सकेन भने देश, संविधान र मानवता नै जोखिममा पर्न सक्थ्यो। अब हामीले निष्पक्ष निर्वाचन सम्पन्न गरेका छौं र यसपालि गुणस्तरीय तथा सुदृढ चुनाव भएको छ।”
निर्वाचनको क्रममा सम्भावित हिंसात्मक झडप हुन सक्ने स्थानहरूमा समयमै सुरक्षा व्यवस्था कडा बनाइ नियन्त्रण गरिएको पनि उनले जानकारी दिए। “एक–दुई स्थानबाहेक ठूलो हिंसात्मक घटना भएन, हुन खोजेका ठाउँमा पनि रोकथाम गरेर नियन्त्रणमा राख्यौं,” उनले भने।
यसअघि विभिन्न स्थानमा मतदान स्थगित हुने र पुनः मतदान गराउनुपर्ने अवस्था आउने गरेको स्मरण गर्दै उनले यसपटक भने देशभर एकैचोटि मतदान सम्पन्न भएको र कतै पनि मतदान स्थगित गर्नुपर्ने अवस्था नआएको बताए।
गृहमन्त्री अर्यालले यस्तो अभ्यासले राजनीतिक सुशासनका मानकहरू अझ सुदृढ बनाउन मद्दत गर्ने उल्लेख गर्दै भविष्यमा आउने सरकारले पनि यस्ता मानकहरू कायम राख्ने अपेक्षा व्यक्त गरे।
उनले थपे, “सबैलाई थाहा छ, यसपालि एक थोपा रगत पनि खस्न सकेन। हाम्रो सरकार गठन भएदेखि राजनीतिक हिंसाबाट रगतको थोपा खसिएको छैन। निर्वाचनको क्रममा पनि हिंसात्मक झडपहरू लगभग नभएका हुन् र जहाँ हुन खोजेका थिए, त्यहाँ समयमै रोक्दै नियन्त्रणमा राखियो। यसरी देशभर एकैचोटि मतदान सम्पन्न भयो र स्थगनको अवस्था देखिएन।”




प्रतिक्रिया !