प्रधानमन्त्री ओलीको खण्डन ‘विदेशीको तस्बिर राख्नुपर्ने स्थिति छैन’

प्रधानमन्त्री ओलीको खण्डन  ‘विदेशीको तस्बिर राख्नुपर्ने स्थिति छैन’

लोक आवाज ,

काठमाडौँ  २६ फागुन –  प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार आयोजित राजावादीहरूको जुलुसमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो राखिएको आरोपप्रति प्रतिक्रिया दिएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा आफूहरू नरहेको स्पष्ट पारे।

 

प्रधानमन्त्री ओलीले भने, “हामी विदेशीको तस्बिर राख्नुपर्ने स्थिति छैनौं। हामीलाई अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुरामा लाग्ने फुर्सद छैन। हाम्रो ध्यान समृद्ध नेपालको यात्रामा छ, जहाँ हरेक दिन हामी एक कदम अगाडि बढ्नका लागि प्रयत्नरत छौं।” उनले विदेशीको तस्बिरको आवश्यकता नभएको उल्लेख गर्दै, यसबारे गरिएका आरोपहरूको खण्डन गरे।

 

आइतबारको जुलुसमा योगी आदित्यनाथको तस्बिर देखिनुको कारणले गर्दा विवाद उत्पन्न भएको थियो। राजावादीहरूले एमाले नेताहरूको निर्देशनमा उक्त तस्बिर राखिएको हुनसक्ने आशंका व्यक्त गरेका थिए। केही राजावादी नेताहरूले पनि उक्त जुलुसमा भारतका मुख्यमन्त्रीको तस्बिर राखिनुको औचित्यबारे प्रश्न उठाएका थिए।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले जुलुसमा योगी आदित्यनाथको फोटो प्रधानमन्त्री ओलीकै निर्देशनमा राखिएको आरोप लगाएका थिए। शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, “हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री ओलीकै निर्देशनमा राखिएको पाइएको छ। यो काम प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको निर्देशनमा भएको हो,” भनेका थिए।

 

प्रधानमन्त्री ओलीले भने यो आरोपलाई पूर्णतः अस्वीकार गर्दै जुलुसमा विदेशीको फोटो राख्नुपर्ने अवस्थामा नेपाल नरहेको बताए। उनले समृद्ध नेपालको लक्ष्यप्रति आफ्नो सरकार प्रतिबद्ध रहेको दोहोर्‍याए।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार