लोक आवाज
जनकपुरधाम , २१ फागुन – मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री सरोजकुमार यादवले पत्रकारहरूमाथि गम्भीर आरोप लगाउँदै धम्क्याउने पत्रकारको नाम दुई–तीन दिनमै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन्। मन्त्री यादवले जनकपुरधाम ८ मा रहेको ती पत्रकारको प्रतिष्ठानबाट पटक–पटक बार्गेनिङको प्रयास भइरहेको र पिसीसी ढलान सडकलाई पिच सडक बनाउने काममा पनि बार्गेनिङ गरिएको आरोप लगाए।
मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले केही पत्रकारहरूले आफ्नो व्यक्तिगत स्वार्थका लागि बार्गेनिङ गर्दै समाचार लेख्ने धम्की दिने गरेको खुलासा गरे। उनले थपे, “मोबाइलमा ती पत्रकारसँग भएको बार्गेनिङको रेकर्ड गरेको छु, हावादारी कुरा गर्दिन।” यद्यपि, उनले कुनै नाम खुलासा नगरेका छन्, तर छिट्टै ती पत्रकारको नाम सार्वजनिक गर्ने घोषणा गरे।
मन्त्री यादवले अधिकांश पत्रकारहरू इमानदार र जिम्मेवार रहेको बताउँदै भने, “केही एक–दुई व्यक्तिका कारण पत्रकारिता क्षेत्र बदनाम भइरहेको छ। यसरी बदनाम गराउनेलाई एक्सपोज गर्न आवश्यक छ।” उनले व्यक्तिगत स्वार्थमा लाग्ने पत्रकारहरूको कारणले सिंगो पत्रकारिता क्षेत्रमाथि नकारात्मक छवि बनिरहेको उल्लेख गरे।




प्रतिक्रिया !