रौतहटमा चिकित्सकको लापरबाहीले युवकको मृत्यु, परिवारले गरे छानबिन र कारबाहीको माग

रौतहटमा  चिकित्सकको लापरबाहीले युवकको मृत्यु, परिवारले गरे छानबिन र कारबाहीको माग

रौतहट, १२ फागुन –  रौतहटको सदरमुकाम गौर–१ स्थित गौर सेन्टर हस्पिटलमा १८ वर्षीय युवकको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको आरोप लगाइएको छ। मृतक लालु अधिकारीका परिवारले घटनाको छानबिन गरी दोषी चिकित्सकमाथि कडा कारबाहीको माग गरेका छन्।

 

मृतक लालु अधिकारी गौर नगरपालिका वडा नम्बर ३ निवासी हुन्। उनका काका देवेन्द्र अधिकारीका अनुसार लालुलाई पेट दुखाइको समस्या भएपछि शनिबार प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको थियो। प्रारम्भिक परीक्षणपछि लालुको आन्द्रा फुटेको पुष्टि भएको थियो।

 

प्रादेशिक अस्पतालका डाक्टर घनश्याम ठाकुरले प्रादेशिक अस्पतालमा आवश्यक सुविधा नभएको भन्दै उनलाई डाक्टर पंकज साहसँग सम्पर्क गर्न सुझाएका थिए। त्यसपछि डाक्टर पंकजको टोलीले गौर सेन्टर हस्पिटलमा अप्रेसन गरेको थियो। अप्रेसनपछि बिरामीको अवस्था गम्भीर बनेको थियो।

 

बिरामीको अवस्था गम्भीर बनेपछि डाक्टरहरूलाई खबर गरियो र उनलाई अक्सिजनसहित एम्बुलेन्समा वीरगञ्जको नेशनल मेडिकल कलेज लैजान सुझाव दिइयो। तर, राति ११ बजे वीरगञ्जस्थित अस्पताल पुगेपछि डाक्टरले बिरामीको मृत्यु भइसकेको घोषणा गरे।

 

मृतकका परिवारले डाक्टर पंकज साह, फिरोज अन्जुम र अन्य चिकित्सकहरूको टोली सम्पर्कविहीन रहेको भन्दै घटनालाई शंकास्पद बताएका छन्। उनीहरूले यस लापरबाहीको गम्भीर छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

 

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले बिरामीलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा रिफर गर्नुपर्नेमा गौरकै निजी अस्पतालमा पठाइएको विषय अनुसन्धानको भएको बताए। अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमीले घटनासम्बन्धी डाक्टर घनश्याम ठाकुर, पंकज साह, र फिरोज अन्जुमसँग लिखित स्पष्टीकरण मागिएको जानकारी दिए।

 

स्थानीयवासीले पनि स्वास्थ्य क्षेत्रमा देखिएको लापरबाहीलाई गम्भीर रूपमा लिँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनीहरूले स्वास्थ्य क्षेत्रमा भएका यस्ता घटनाहरूको सत्यतथ्य बाहिर ल्याउन जोड दिएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार