जनकपुरधाम , ७ फागुन । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ पिडारीचोकस्थित दर्ताविना सञ्चालित मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रिया गराएकी २५ वर्षीया बबिताकुमारी यादवको एक महिनासम्म होस नफर्किएको घटना सार्वजनिक भएको छ। माघ ३ गते सर्जन डा. ज्ञानकुमार साहको नेतृत्वमा गरिएको शल्यक्रियापछि बबिताको स्वास्थ्य गम्भीर बनेको हो।
शल्यक्रियापछि होस नआएपछि बबितालाई ६ माघमा जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरियो। त्यहाँ २९ माघसम्म उपचार हुँदा पनि सुधार नआएपछि काठमाडौंको वीर अस्पताल लगिए पनि भेन्टिलेटर नपाएपछि ३० माघमा काठमाडौं मेडिकल कलेज (केएमसी)मा भर्ना गरिएको हो। बबिताका श्रीमान अंगेशकुमार यादवले भौतिक र आर्थिक कठिनाइका बीच ऋण सापटी लिएर उपचार गराइरहेको बताएका छन्। अहिलेसम्म ११ लाखभन्दा बढी खर्च भइसकेको छ।
मुस्कान अस्पतालमा शल्यक्रियापछि बबितालाई होस नआएको र अस्पतालले लापरबाही गरेको भन्दै परिवारले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसमक्ष उजुरी गरेका थिए। मुख्यमन्त्री सिंहले अस्पतालमा छड्के अनुगमन गरी बन्द गराएका थिए, तर अस्पतालले परिवारलाई उपचार खर्चमा सहयोग नगरेको आरोप लगाइएको छ।
बबिताको उपचारमा ठूलो आर्थिक भार परेको छ। अंगेशले अब उपचारको खर्च जुटाउन कठिन भएको र ऋण पनि पाइरहेको नभएकाले अस्पतालले सहयोग गर्नुपर्ने माग राखेका छन्। बबिताको बोनम्यारोमा संक्रमण फैलिएकाले महँगा औषधि किन्ने चुनौती रहेको छ।
परिवारले मुस्कान अस्पतालको लापरबाहीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषा र नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका छन्। मधेश सरकारले जनकपुरका निजी अस्पतालहरूको छड्के अनुगमन गर्दै दर्ताविहीन अस्पतालहरू बन्द गराउने प्रक्रिया अघि बढाएको छ।




प्रतिक्रिया !